काठमाडौ, २९ असारः अमेरिकाले ईरानमाथि लगातार दोस्रो दिन पनि सैन्य आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्ट्रल कमाण्ड) ले सोमबार बिहान सार्वजनिक गरेको जानकारीअनुसार होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथि आक्रमण गर्ने ईरानको क्षमता कमजोर पार्ने उद्देश्यले थप सैन्य कारबाही गरिएको हो। यी आक्रमणहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सञ्चालन गरिएको सेन्ट्रल कमाण्डले जनाएको छ।
यसअघि आइतबार पनि अमेरिकाले ईरानका विभिन्न सैन्य संरचना र रणनीतिक लक्ष्यहरूमा व्यापक हवाई आक्रमण गरेको थियो। अमेरिकी पक्षले उक्त कारबाही होर्मुज जलडमरूमध्यमा एक व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरेको छ।
अमेरिकी सेनाका अनुसार पछिल्लो कारबाहीको उद्देश्य अन्तर्राष्ट्रिय समुद्री मार्ग हुँदै सञ्चालन हुने नागरिक तथा व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्नु र समुद्री यातायातमा हुन सक्ने थप जोखिम न्यूनीकरण गर्नु हो। सेन्ट्रल कमाण्डले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा ईरानको आक्रमण क्षमता सीमित पार्ने लक्ष्यसहित अभियान जारी रहेको उल्लेख गरिएको छ।
घटनाको सुरुआत आइतबार बिहान भएको बताइएको छ। अमेरिकी दाबीअनुसार ईरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) को नौसैनिक बलले होर्मुज जलडमरूमध्य हुँदै गइरहेको साइप्रसको झण्डा बोकेको कन्टेनर जहाज ‘जीएफएस ग्यालेक्सी’ माथि आक्रमण गरेको थियो। आक्रमणपछि जहाजमा आगलागी हुनुका साथै इन्जिनमा क्षति पुगेको जनाइएको छ।
उक्त जहाजमा ११ जना भारतीय चालकदल सदस्य रहेको र तीमध्ये एक जना सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। यही घटनापछि अमेरिकाले ईरानविरुद्ध सैन्य कारबाही तीव्र बनाएको हो।
यसैबीच पछिल्ला आक्रमणले पश्चिम एशियाको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ। केही समयअघि मात्र कायम भएको अमेरिका–ईरानबीचको नाजुक युद्धविराम पुनः संकटमा पर्ने संकेत देखिएको विश्लेषण गरिएको छ। दुवै पक्षबीच बढ्दो सैन्य गतिविधिले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। एजेन्सी