काठमाडाैः होर्मुज जलडमरूमध्य (Strait of Hormuz) लाई लिएर अमेरिका र इरानबीच फेरि एकपटक तनाव बढिरहेको छ। यसैबीच ओमानले यो रणनीतिक जलमार्गको व्यवस्थापनका लागि इरानसमक्ष एउटा नयाँ प्रस्ताव राखेको छ, जसमा जहाज आवतजावतका लागि दुईवटा फरक मार्गहरू सुझाइएको छ। यस विषयमा शनिबार मस्कटमा इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री सैयद बद्र अल-बुसैदीबीच महत्त्वपूर्ण बैठक भएको थियो, जसमा कतारी अधिकारीहरूको पनि सहभागिता थियो। वार्तामा होर्मुज जलमार्गलाई आंशिक रूपमा भए पनि खुल्ला राख्ने विषयमा छलफल भएको जनाइएको छ।
सीएनएन (CNN) को रिपोर्ट अनुसार ओमानले होर्मुज स्ट्रेटबाट गुज्रिने ट्राफिकलाई दुईवटा छुट्टाछुट्टै नियन्त्रित मार्गबाट लैजाने प्रस्ताव गरेको छ। यस योजना अन्तर्गत इरानको तट नजिकै पर्ने उत्तरी मार्गको व्यवस्थापन इरानले गर्नेछ भने ओमानको तट नजिकै पर्ने दक्षिणी मार्गको व्यवस्थापन ओमानले गर्नेछ। स्रोतका अनुसार यो योजनाको सबैभन्दा महत्त्वपूर्ण पक्ष के हो भने दुवैमध्ये कुनै पनि मार्गमा जहाजहरूबाट कुनै पनि प्रकारको टोल वा शुल्क लिइने छैन।
एक्सियोस (Axios) को रिपोर्ट अनुसार, बैठकमा उपस्थित इरानी प्रतिनिधिमण्डलले तत्कालै यो प्रस्तावमा सहमति जनाउन सकेनन् र उनीहरूले यस योजनामा विस्तृत आन्तरिक छलफलका लागि प्रस्तावलाई तेहरान लैजानुपर्ने बताएका छन्। यस बैठकमा अमेरिकी अधिकारीहरूको प्रत्यक्ष उपस्थिति नभए पनि उनीहरू ओमान र कतारी अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहने बताइएको छ। यसअघि इरानी अधिकारीहरूले होर्मुज जलडमरूमध्यमा जहाजहरूमाथि गोलीबारी हुनु एक गल्ती भएको निजी रूपमा स्वीकार गर्दै वार्तालाई अगाडि बढाउने इच्छा व्यक्त गरेका थिए।