काठमाडौ, २८ असारः यस वर्षको नन्दप्रसाद जानुका स्मृति सम्मान समाजसेवी आत्मकृष्ण श्रेष्ठलाई प्रदन गरिने भएको छ । समाजसेवी श्रेष्ठलाई नन्दप्रसाद जानुका स्मृति सम्मान २०८३ बाट सम्मान गरिने भएको हो ।
समाजसेवी श्रेष्ठले विशेषगरी शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्याउँदै आउनु भएको छ । शिक्षा क्षेत्रसँगै दोलखको समग्र विकासमा श्रेष्ठले पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्ककन गर्दै सम्मान गर्ने निर्णय गरिएको नन्दप्रसाद जानुका स्मृति फाउन्डेशनले जनाएको छ ।
भाद्र ४ गते स्वर्गीय नन्दप्रसाद शिवाकोटीको जन्मदीनको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा श्रेष्ठलाई नगद २५ हजार सहित सम्मान गरिने फाउन्डेशनका अध्यक्ष अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
सम्मानित गरिन लागेका श्रेष्ठको गौरीशंकर क्याम्पस, गौरीशंकर पुस्तकालय, चरिकोट क्याम्पस, सिंगटी अस्पत्ताल लगायतको स्थापना तथा उन्नयनमा विशिष्ट योगदान रहेको छ । नेपाल सरकारको सहसचिव पदबाट सेवा निबृत्त हुनु भएका ८८ वर्षका श्रेष्ठ यो उमेरमा पनि शैक्षिक तथा समाजसेवाका क्षेत्रमा सक्रीय हुनु हुन्छ । दोलखाको कला संस्कृति, पुरातत्व आदिको संरक्षणमा समेत श्रेष्ठको ठूलो योगदान रहेको छ ।
राजनीतिज्ञ एवं दोलखाका शैक्षिक अभियन्ता नन्दप्रसाद शिवाकोटी तथा उहाँकी धर्मपत्नी जानुका शिवाकोटीको स्मृतिमा स्थापना गरिएको नन्दप्रसाद जानुका स्मृति फाउन्डेशनले दोलखाको शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणका माध्यमबाट समुन्नत दोलखा बनाउने अभियानमा संलग्न व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यो सम्मानबाट यस अघि शिक्षा सेवी मिलनराज तुलाधर तथा पत्रकार शम्भुगौतम सम्मानित भइसक्नु भएको छ ।