पात्रो

रेडियो

समाचार खोजी

पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडानमा जापान सफल: अन्तरिक्ष लागत घटाउने लक्ष्य

साझा अर्थ संवाददाता २७ असार २०८३, शनिवार
समाचार सारांश
  • जापानले पुनः प्रयोग गर्न सकिने 'आरभी-एक्स' रकेटको पहिलो सफल परीक्षण उडान सम्पन्न गर्‍यो।
  • यस प्रविधिको मुख्य लक्ष्य अन्तरिक्ष प्रक्षेपणको लागत घटाउँदै सस्तो सेवा उपलब्ध गराउनु हो।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं : जापानले पुनः प्रयोग गर्न सकिने रकेट प्रविधि विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जेएएक्सए) ले शनिबार पुनः प्रयोगयोग्य ‘आरभी–एक्स’ (RV-X) रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

उत्तरपूर्वी जापानको नोशिरो परीक्षण केन्द्रबाट गरिएको परीक्षणमा रकेटले एक मिनेटभन्दा कम समय उडान भरेको थियो। परीक्षणका क्रममा रकेट केहीबेर आकाशमा स्थिर रहँदै तेर्सो दिशातर्फ अघि बढेको र त्यसपछि सुरक्षित रूपमा निर्धारित स्थानमा अवतरण गरेको जेएएक्सएले जनाएको छ।

परियोजनाका प्रमुख ताकाशी इतोका अनुसार परीक्षण पूर्वनिर्धारित योजनाअनुसार सफल भएको हो। रकेटले करिब ११ मिटर उचाइ हासिल गर्नुका साथै अवतरणअघि करिब १६ मिटर तेर्सो दूरी तय गरेको थियो। परियोजनामा प्रयोग गरिएको इन्जिनले हालसम्म १६५ पटक सफल दहन परीक्षण पूरा गरिसकेको जानकारी पनि उनले दिएका छन्।

अमेरिकी कम्पनी स्पेसएक्सले पुनः प्रयोगयोग्य रकेटमार्फत अन्तरिक्ष प्रक्षेपणको लागत उल्लेखनीय रूपमा घटाएपछि जापानले पनि सोही अवधारणामा आधारित आफ्नै प्रविधि विकासलाई तीव्र बनाएको हो। हाल सञ्चालनमा रहेको एच–३ रकेटभन्दा कम लागतमा अन्तरिक्ष प्रक्षेपण सेवा उपलब्ध गराउने उद्देश्य यस परियोजनाको रहेको छ।

जेएएक्सए र मित्सुबिसी हेभी इन्डस्ट्रिजले संयुक्त रूपमा विकास गरिरहेको आरभी–एक्स रकेटमा टिकाउ इन्जिन र सुरक्षित अवतरणका लागि चारवटा विशेष ल्यान्डिङ गियर जडान गरिएको छ। आगामी चरणमा यस रकेटलाई करिब १०० मिटर उचाइसम्म परीक्षण गर्ने योजना रहेको छ।

जापानले फ्रान्स र जर्मनीसँगको सहकार्यमा यो प्रविधि विकास गरिरहेको छ। अन्तरिक्ष ढुवानी क्षमता विस्तारलाई जापानी सरकारले राष्ट्रिय अन्तरिक्ष कार्यक्रम तथा सुरक्षा रणनीतिको महत्वपूर्ण आधारका रूपमा अघि बढाइरहेको छ।

तस्विरः जापान टुडे

38 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु