काठमाडौं, असार २९ — नेपाल बीमा प्राधिकरणले बीमा दाबीको दायित्व निर्धारण तथा भुक्तानी प्रक्रियामा समस्या वा अनियमितता देखिए प्रमाणसहित उजुरी दिन बीमित तथा सरोकारवालालाई आग्रह गरेको छ।
प्राधिकरणका अनुसार बीमक, बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर वा अन्य सम्बन्धित पक्षले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा व्यावसायिक आचारसंहिताविपरीत काम गरेको अवस्थामा उजुरी दिन सकिनेछ।
बीमा दाबी प्रक्रियामा सेवाग्राहीलाई दुःख दिने, गलत विवरण तयार गर्ने, तथ्य लुकाउने वा तोडमोड गर्ने, पक्षपातपूर्ण मूल्यांकन गर्ने, अनुचित लाभ लिने वा अन्य गैरकानुनी काम गर्ने व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि उजुरी दिन सकिने प्राधिकरणले जनाएको छ।
उजुरीसँगै उजुरीकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विस्तृत विवरण, बीमा दाबी नम्बर तथा बीमालेख नम्बर खुलाउनुपर्नेछ। उजुरी पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाणसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ।
उजुरी नेपाल बीमा प्राधिकरणको दर्ता शाखामा प्रत्यक्ष उपस्थित भएर दिन सकिनेछ। साथै, [email protected] र [email protected] मा इमेलमार्फत पनि उजुरी पठाउन सकिने प्राधिकरणले जनाएको छ।
हुलाकमार्फत उजुरी पठाउँदा नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर महानगरपालिका–१०, कुपण्डोल, ललितपुर ठेगानामा पठाउन सकिनेछ।
प्राधिकरणले प्राप्त उजुरी तथा प्रमाणको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ।