काठमाडौंः खाडी क्षेत्रमा तनाव पुनः चुलिँदै गएको छ । अमेरिका र इरान दुबै आक्रमणमा उत्रीएपछि तनाब चुलिँदै गएको हो ।
अमेरिकाले इरानका दर्जनौँ सैन्य संरचनामाथि हवाई आक्रमण गरेपछि इरानले बहरेन र कुवेतलगायत खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै व्यापक जवाफी आक्रमण गरेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का अनुसार कम्तीमा ८५ अमेरिकी सैन्य ठेगानालाई निशाना बनाइएको अन्तराष्ट्रिय सञ्चार माधमहरुले जनाएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार बहरेनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडा (फिफ्थ फ्लीट) को मुख्यालय तथा कुवेतको अली अल–सलेम हवाई अड्डा आक्रमणको प्रमुख लक्ष्य बनेका छन्। साथै, इरानले आफ्नो दक्षिणी क्षेत्रमा उडिरहेको अमेरिकी एमक्यू–९ ड्रोन पनि खसालेको दाबी गरेको छ। यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भने भइसकेका छैनन्।
यसअघि अमेरिकाले होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने अन्तर्राष्ट्रिय जहाजमाथि भएका आक्रमणको जिम्मेवार इरानलाई ठहर गर्दै इरानका तटीय सुरक्षा संरचना, हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण केन्द्र, रडार स्टेशन, जहाजविरोधी क्षेप्यास्त्र प्रणाली तथा आईआरजीसीका दर्जनौँ तीव्र गतिको डुंगामाथि हवाई आक्रमण गरेको थियो।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले ८० भन्दा बढी लक्ष्यमा ‘सटीक हतियार’ प्रयोग गरी आक्रमण गरिएको जनाएको छ। उसका अनुसार अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षामा खतरा उत्पन्न गर्ने इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको हो।
तनावको मुख्य केन्द्र होर्मुज जलडमरूमध्य बनेको छ। ओमानको तट नजिक अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि वैकल्पिक समुद्री मार्ग सञ्चालन गर्ने प्रयासपछि इरानले त्यसको विरोध गर्दै आफ्नो स्वीकृत मार्ग मात्र प्रयोग गर्न चेतावनी दिएको थियो। त्यसपछि विभिन्न व्यापारिक जहाजमाथि भएका आक्रमणले स्थिति थप जटिल बनेको छ।
दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाइरहेका छन्। पछिल्ला सैन्य कारबाहीले मध्यपूर्वमा फेरि व्यापक द्वन्द्व भड्किने जोखिम बढाएको विश्लेषकहरूले बताएका छन्। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक संवादमार्फत तनाव कम गर्न दुवै पक्षलाई आग्रह गरिरहेको छ।