काठमाडौं, भारतका प्रसिद्ध लोककलाकार तथा पद्म विभूषणबाट सम्मानित पण्डवानी गायिका डा. तीजन बाईको ७० वर्षको उमेरमा निधन भएको छ। उनको आइतबार बिहान भारतीय राज्य छत्तीसगढको रायपुरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (AIIMS) मा उपचारका क्रममा निधन भएको हो।
एम्स रायपुरका चिकित्सकका अनुसार तीजन बाईले बिहान करिब ३:१५ बजे अन्तिम श्वास लिएकी हुन्। उनी लामो समयदेखि उमेरसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याका कारण बिरामी रहेकी थिइन्। उनको निधनसँगै भारतको सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा शोकको लहर छाएको छ।
छत्तीसगढको दुर्ग जिल्लास्थित गनियारी गाउँमा जन्मिएकी तीजन बाईले पण्डवानी गायनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण योगदान दिएकी थिइन्। उनले १३ वर्षको उमेरमै पहिलो सार्वजनिक प्रस्तुति दिएकी थिइन्। महिलाहरू प्रायः बसेर प्रस्तुत गर्ने परम्परागत शैलीलाई तोड्दै उनले हातमा तम्बुरा लिएर उभिएर प्रस्तुति दिने ‘कापालिक शैली’ अपनाएकी थिइन्, जसले पण्डवानी गायनलाई नयाँ पहिचान दिलाएको थियो।
उनले भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीदेखि विश्वका विभिन्न राष्ट्राध्यक्षहरूका सामु आफ्नो कला प्रस्तुत गरेकी थिइन्। लोककलामा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप उनलाई सन् १९८७ मा पद्मश्री, २००३ मा पद्म भूषण र २०१९ मा भारतको दोस्रो सर्वोच्च नागरिक सम्मान पद्म विभूषण प्रदान गरिएको थियो। साथै उनले जापानको प्रतिष्ठित फुकुओका कला पुरस्कार समेत प्राप्त गरेकी थिइन्।
तीजन बाईको निधनलाई भारतीय लोकसांस्कृतिक इतिहासको एउटा युगको अन्त्यका रूपमा हेरिएको छ।