पात्रो

रेडियो

समाचार खोजी

काशी विश्वनाथ मन्दिरमा पिएसी जवानको बन्दुकबाट गोली चल्दा तीन जना घाइते

साझा अर्थ संवाददाता २० असार २०८३, शनिवार

काठमाडौं, २० असारः भारतको  उत्तर प्रदेशको वाराणसीमा रहेको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा आज शनिबार मन्दिरको सुरक्षामा खटिएका एक पिएसी (प्रादेशिक सशस्त्र प्रहरी) जवानको बन्दुकबाट अचानक गोली चल्दा तीन जना घाइते भएका छन् । मन्दिरको गेट नम्बर–४ नजिक सो घटना भएको हो । 
त्यहाँ ड्यूटीमा रहेका पिएसी जवानको कार्बाइन (एक प्रकारको बन्दुक) अचानक जमिनमा खस्यो र त्यसबाट गोली चल्दा गोली सडकमा लागेपछि उछिट्टिएर त्यसका छर्रा दुई पसले र अर्का एक व्यक्तिलाई लागी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
घाइते हुनेहरूको पहिचान निक्की गुप्ता, रामबाबू र विकास यादवका रूपमा भएको बताइएको छ ।  उनीहरूलाई हात र खुट्टामा चोट लागेको छ । तीनै जनालाई नजिकैको कबीरचौरा अस्पतालमा भर्ना गरिएको नवभारत टाइम्सले जनाएको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटना हुँदा मन्दिर परिसरमा भक्तजनहरू पूजाका लागि फूल र माला किनिरहेका थिए। गोलीको आवाज सुन्नासाथ वरपरका मानिसहरूमा त्रास फैलिएको थियो ।  तर, प्रहरीले तुरुन्तै अवस्थालाई  नियन्त्रणमा लिई घाइतेहरूलाई अस्पताल पुर्यायो।
प्रहरीले घटनाको छानबिन सुरु गरेको छ । पिएसी जवानलाई प्रहरी चौकीमा लगिएको छ र उसलाई सोधपुछ गरिँदै छ । प्रहरीले कार्बाइन कसरी जमिनमा खस्यो र गोली कसरी चल्यो भन्नेबारे अनुसन्धान गरिरहेको बताइएको छ । 
काशी विश्वनाथ मन्दिर भारतको एक अति महत्त्वपूर्ण धार्मिक स्थल हो, जहाँ दैनिक हजारौं भक्तजन दर्शनका लागि आउँछन् । मन्दिरको सुरक्षाका लागि कडा पहराको व्यवस्था रहने गरेको छ । यो घटनाका कारण केही बेरका लागि त्रास फैलिए पनि अहिले सबै कुरा सामान्य भइसकेको प्रहरीले जनाएको छ ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु