काठमाडौँ, २३ असार: कृषि विकास बैंक लिमिटेडले आफूबाट लिएको कर्जा लामो समयदेखि चुक्ता नगर्ने विविद् ऋणीहरूलाई ३५ दिनभित्र सम्पूर्ण सावाँ तथा ब्याज बुझाउन अल्टिमेटम जारी गरेको छ। सरकारी स्वामित्वको यस वाणिज्य बैंकले एक सार्वजनिक सूचना प्रकाशित गर्दै तोकिएको अवधिभित्र ऋणको बक्यौता फरफारक नगरेमा धितोस्वरूप राखिएको चल-अचल सम्पत्ति लिलाम गर्नुका साथै ऋणीहरूलाई कानुनी रूपमा कालोसूचीमा समावेश गर्ने चेतावनी दिएको हो। बैंकबाट विभिन्न शीर्षकमा कर्जा सुविधा उपभोग गरी विगत लामो समयदेखि सावाँ र ब्याजको किस्ता भुक्तानी नगरी बक्यौता राख्ने तथा बैंकको निरन्तरको सम्पर्कमा समेत नआउने ग्राहकहरूलाई लक्षित गर्दै यो कडा कदम चालिएको हो।
बैंकद्वारा असार २३ गते जारी गरिएको सार्वजनिक ध्यानाकर्षण सूचनाअनुसार ऋणी मात्र नभई उनीहरूका व्यक्तिगत जमानीकर्ता हरूलाई समेत यो कानुनी दायित्व पूरा गर्न निर्देशन दिइएको छ। यदि यो ३५ दिने म्याद समाप्त हुदासम्म पनि कर्जाको नियमितीकरण वा पूर्ण भुक्तानी नभएमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम दर्ता गराउने प्रक्रिया अघि बढाउनेछ। कालोसूचीमा परेपछि सम्बन्धित व्यक्ति वा संस्थाले भविष्यमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट थप कर्जा वा बैंकिङ सुविधा प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ। यसका साथै बैंकले आफ्नो लगानी सुरक्षित गर्नका लागि धितोमा रहेको जग्गा, भवन वा अन्य सम्पत्तिलाई प्रचलित कानुनबमोजिम लिलाम बिक्री गरी असुलउपर गर्ने प्रष्ट पारेको छ।
बैंकले आफ्ना सम्पूर्ण ऋणीहरूलाई कानुनी झन्झट र प्रतिष्ठामा आँच आउन सक्ने अवस्थाबाट बच्नका लागि यो अन्तिम अवसरको उपयोग गर्न आग्रह गरेको छ। सम्बन्धित ऋणीहरूले तुरुन्तै आफूले कर्जा लिएको बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राखी आफ्नो बक्यौता विवरण बुझ्न र भुक्तानी प्रक्रिया टुङ्गो लगाउन बैंक व्यवस्थापनले अनुरोध गरेको छ। वित्तीय अनुशासन कायम राख्न र खराब कर्जा (एनपीए) को अनुपातलाई नियन्त्रणमा राख्नका लागि बैंकले आगामी दिनमा अझ आक्रामक रूपमा असुली प्रक्रिया अघि बढाउने रणनीति लिएको थाहा हुन आएको छ।