काठमाडौँ, असार २२ गते।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार साधारण सभा आगामी असार ३० गते मंगलबार काभ्रेपलाञ्चोकको पनौतीमा हुने भएको हो।
सभा बिहान ११ बजे पनौती नगरपालिका–४ स्थित ताम्राकार पार्टी भेन्यूमा बस्ने कम्पनीले जनाएको छ। कम्पनी ऐन, २०६३ को दफा ६७(२) अनुसार सम्पूर्ण शेयरधनीलाई उपस्थितिका लागि आग्रह गरिएको छ।
कम्पनीका अनुसार साधारण सभासम्बन्धी सूचना यसअघि असार १० गते आर्थिक अभियान राष्ट्रिय दैनिकमा प्रकाशित गरिएको थियो। दोस्रो पटक सूचना जारी गर्दै संस्थाले शेयरधनीलाई सभामा सहभागी हुन अनुरोध गरेको हो।
साधारण सभाका लागि आवश्यक सूचना, प्रतिनिधि पत्र अर्थात् प्रोक्सी फारम, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका कागजात कम्पनीको वेबसाइटमा उपलब्ध गराइएको संस्थाले जनाएको छ।
अभियान लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको वित्तीय संस्था हो। यसको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा रहेको छ।