काठमाडौँ, २१ असार: सरकारले लामो समयदेखि बन्द रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने योजनाअन्तर्गत नेपाली सेनाको प्राविधिक सहयोगमा परीक्षण उत्पादन सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकार गठनको पहिलो १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्ले गत असार १८ गते उद्योग पुनः सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति दिएको जानकारी गराउनुभएको हो। सरकारले विसं २०६९ माघ १२ गते खारेजीको निर्णय गरेपछि पूर्ण रूपमा बन्द रहेको यस उद्योगलाई ब्युँताउन अर्थ मन्त्रालयले आवश्यक बजेट समेत निकासा गरिसकेको छ, जसका कारण सेनाले मेशिनहरूको मर्मत गरी परीक्षण उत्पादनको चरण अघि बढाउन सकेको हो।
मन्त्रालयका अनुसार हाल सरकारले हेटौँडा कपडा उद्योगसहित देशका सातवटा रुग्ण तथा बन्द सरकारी उद्योगहरूको सम्पत्ति र दायित्वको विस्तृत मूल्याङ्कन गरिरहेको छ। यी मूल्याङ्कन प्रतिवेदनहरू प्राप्त भएपछि मात्र उक्त उद्योगहरूलाई दीर्घकालीन रूपमा कुन व्यवस्थापकीय ढाँचामा सञ्चालन गर्ने भन्ने विषयमा अन्तिम निर्णय लिइने सचिव राउतले स्पष्ट पार्नुभएको छ। यसका साथै, मन्त्रिपरिषद्को बैठकले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको निरन्तर सञ्चालनका लागि आवश्यक पर्ने चुनढुङ्गा र रातो माटोको म्याद सकिएको उत्खनन अनुमति पत्रको अवधि थप गर्ने निर्णय समेत स्वीकृत गरेको छ।