पात्रो

रेडियो

समाचार खोजी

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ खिच्ने

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार

काठमाडौँ, २२ असार: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अत्यधिक लगानीयोग्य रकम व्यवस्थापन गर्न आज असार २२ गते थप २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार एक वर्ष अवधिको यस ऋणपत्रको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ राखिएको छ। वित्तीय प्रणालीमा तरलता थुप्रिने क्रम बढेपछि राष्ट्र बैंकले एक हप्ताभित्रै चौथो पटक बजारबाट रकम खिच्न लागेको हो। यसअघि ४५ अर्ब, ३५ अर्ब र २५ अर्ब रुपैयाँका ऋणपत्रहरू जारी गरिसकेको राष्ट्र बैंकले असार २२ गतेको समेत गरी छोटो अवधिमै कुल १२५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्नेछ।

यस बोलकबोल प्रक्रियामा इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। प्रतिस्पर्धात्मक बोलकबोलका माध्यमबाट निर्धारण हुने ब्याजदरको भुक्तानी प्रत्येक छ महिनामा गरिनेछ भने सावाँ एक वर्षपछि अर्थात् २०८४ असार २२ गते फिर्ता हुनेछ। यो ऋणपत्रलाई वित्तीय संस्थाहरूले कर्जाका लागि धितोका रूपमा प्रयोग गर्न सक्नेछन्। यसमा गरिएको लगानीलाई अनिवार्य नगद अनुपातमा गणना गर्न नपाइने भए तापनि वैधानिक तरलता अनुपातका रूपमा गणना गर्न सकिने व्यवस्था छ। सफल बोलकबोलकर्ताको खातामा रकम नपुगेमा साढे दुई प्रतिशत जरिवानासहित ६ महिनासम्म खुला बजार कारोबारमा रोक लगाइने राष्ट्र बैंकले चेतावनी दिएको छ।

9 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु