पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

साझा अर्थ संवाददाता २२ असार २०८३, सोमवार
समाचार सारांश
  • नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्दैछ।
  • यो ऋणपत्र बोलकबोलमार्फत इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र बिक्री गरिनेछ।
  • यसको मुख्य उद्देश्य तरलता व्यवस्थापन र वित्तीय प्रणालीमा लगानी साधन उपलब्ध गराउनु हो।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, असार २२ गते।
नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ बोलकबोलमार्फत बिक्री गर्न लागिएको जनाएको हो।

ऋणपत्रको कुल आह्वान रकम २० अर्ब रुपैयाँ रहेको छ। यसका लागि बोलकबोल प्रक्रिया असार २२ गते अनलाइन बिडिङ प्रणालीमार्फत हुने सूचनामा उल्लेख छ। बोलकबोलमा सहभागी संस्थाले न्यूनतम ५ करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसको निष्कासन मिति असार २२ गते तोकिएको छ भने साँवा भुक्तानी मिति २०८४ असार २२ गते हुनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ र ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ।

यो ऋणपत्र बैंक तथा वित्तीय संस्थाले लगानी साधनका रूपमा प्रयोग गर्न सक्नेछन्। साथै, राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था अर्थात् काउन्टरपार्टी मात्र सहभागी हुन पाउनेछन्। सर्वसाधारण लगानीकर्ताका लागि भने यो प्रत्यक्ष रूपमा खुला गरिएको छैन।

राष्ट्र बैंकले तरलता व्यवस्थापन र मौद्रिक उपकरण परिचालनका लागि समय–समयमा यस्ता ऋणपत्र जारी गर्दै आएको छ। बजारमा रहेको तरलता, बैंकिङ प्रणालीको लगानी क्षमता र ब्याजदरको अवस्थालाई ध्यानमा राख्दै यो ऋणपत्रको बोलकबोल हुन लागेको हो।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु