काठमाडौँ, २३ असार: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई विभिन्न समयमा भुक्तानी हुन बाँकी रहेको बीमा दाबी तथा चुक्ता मूल्य बापतको रकम तुरुन्त बुझिलिन आग्रह गरेको छ। कम्पनीबाट जारी भएका जीवन बीमालेखहरू अन्तर्गत अवधि भुक्तानी भएका, बीचमै बीमालेख बन्द भएका, वा चुक्ता मूल्य कायम भएका तर बीमित वा बुझिलिने व्यक्तिले लामो समयदेखि रकम दाबी नगरेका कारण असार २३ गते यो आह्वान गरिएको हो।
विभिन्न कारणले बीमित वा हकवालाको बैंक खाता अद्यावधिक नभएको वा आवश्यक कागजातहरू नपुगेका कारण ठुलो परिमाणमा यस्तो रकम भुक्तानी हुन नसकी रोकिएर रहेको छ। बीमितहरूले आफ्नो बीमालेख नम्बर र नागरिकतासहित कम्पनीको नजिकैको शाखा कार्यालय वा काठमाडौँको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गरी आफ्नो बक्यौता रकम भुक्तानी लिन सक्नेछन्। तोकिएको समयभित्र दाबी गर्न नआएमा यस्तो भुक्तानी हुन बाँकी रकमलाई नेपाल बीमा प्राधिकरणको कानुनी निर्देशनअनुसार दाबी नगरिएको कोषमा पठाइने कम्पनीले स्पष्ट पारेको छ।