काठमाडौँ, ८ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आक्रमणबाट जहाज, कार्गो तथा समुद्री ढुवानीसँग सम्बन्धित संरचनामा हुने क्षतिको क्षतिपूर्ति अमेरिकाको नियन्त्रणमा रहेको इरानी सम्पत्तिबाट व्यहोर्ने चेतावनी दिनुभएको छ। पछिल्ला दुई सातादेखि अमेरिका–इरानबीच तनाव चर्किरहेका बेला उहाँको यस्तो अभिव्यक्ति आएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत अबदेखि इरानको आक्रमणका कारण हुने कुनै पनि क्षतिको भरपाई अमेरिकाले नियन्त्रणमा राखेको इरानी सम्पत्तिबाट गरिने बताउनुभएको हो। उहाँले यसलाई अर्को सूचना नआएसम्मका लागि आधिकारिक धारणा मान्न पनि आग्रह गर्नुभएको छ।
प्रतिवेदनहरूका अनुसार करिब १०० अर्ब अमेरिकी डलर बराबरको इरानी सम्पत्ति विभिन्न प्रतिबन्धका कारण स्थगित अवस्थामा रहेको छ र त्यसमा तेहरानको प्रत्यक्ष पहुँच छैन। ट्रम्पले जहाज तथा कार्गोमा हुने क्षति ठूलो हुन सक्ने भए पनि त्यसको क्षतिपूर्ति इरानी सम्पत्तिबाट गर्नु न्यायोचित हुने दाबी गर्नुभएको छ।
यसबीच इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी प्रशासनको पछिल्लो अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आक्रामक नीतिले परिस्थिति थप जटिल बनाउने चेतावनी दिनुभएको छ। सामाजिक सञ्जाल ‘एक्स’मार्फत उहाँले केही अमेरिकी अधिकारीले वास्तविकतालाई बेवास्ता गर्दै राजनीतिक स्वार्थका आधारमा निर्णय गरिरहेको आरोप लगाउनुभएको छ। उहाँले यस्तो नीतिले शान्ति प्रयासलाई कमजोर बनाउने र त्यसको मूल्य अमेरिकाले नै चुकाउनुपर्ने दाबी गर्नुभएको छ।
तनावका बीच अमेरिकी सेनाले लगातार १३औँ रात पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्डका अनुसार ती कारबाहीको उद्देश्य समुद्री मार्गमा व्यावसायिक जहाज र नाविकमाथि इरानबाट हुने भनिएको सुरक्षा जोखिम कम गर्नु हो। इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, केश्म, एन्डिमेष्क र ओमिदियेह आसपास विस्फोट भएका समाचार सार्वजनिक गरेका छन्