पात्रो

रेडियो

समाचार खोजी

अमेरिकाद्वारा इरानमाथि पुनः नौसैनिक नाकाबन्दी, सैन्य कारबाही तीव्र

साझा अर्थ संवाददाता ३१ असार २०८३, बुधवार

काठमाडौं, ३१ असार: अमेरिकाले इरानविरुद्ध पुनः नौसैनिक नाकाबन्दी लागू गर्दै मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य गतिविधि तीव्र बनाएको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले अमेरिकी समयअनुसार मङ्गलबार साँझदेखि नाकाबन्दी लागू भएको जनाएको छ। पछिल्लो कदमले गत महिना भएको नाजुक युद्धविराम थप कमजोर बन्दै पुनः पूर्ण युद्धको जोखिम बढेको विश्लेषण गरिएको छ।

नाकाबन्दी लागू हुनुअघि अमेरिकी सेनाले इरानका विभिन्न सैन्य संरचनामाथि नयाँ हवाई आक्रमण गरेको जनाएको छ। यो लगातार चौथो रातको सैन्य कारबाही भएको अमेरिकी अधिकारीहरूको भनाइ छ। आक्रमणमा इरानका तटीय रक्षा प्रणाली, मिसाइल तथा ड्रोन प्रक्षेपणस्थल र समुद्री सैन्य क्षमतालाई मुख्य लक्ष्य बनाइएको बताइएको छ।

सेन्टकमका अनुसार हाल मध्यपूर्व क्षेत्रमा अमेरिकी नौसेनाका २० भन्दा बढी युद्धपोत तथा सयौँ सैन्य विमान परिचालनमा छन्। उनीहरू क्षेत्रीय सुरक्षा तथा सैन्य अभियानलाई प्रभावकारी बनाउन परिचालित गरिएको जनाइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः नाकाबन्दी गर्ने घोषणा गरेका थिए। उनले होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने योजना पनि सार्वजनिक गरेका थिए। तर घोषणा गरेको २४ घण्टाभित्रै उक्त निर्णयबाट पछि हटेका थिए।

उता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफस्वरूप खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गरी प्रतिआक्रमण गरेको दाबी गरेको छ। आईआरजीसीका अनुसार बहराइन र कुवेतस्थित सैन्य अड्डामा आक्रमण गरिएको हो।

अमेरिकी आक्रमणपछि इरानका दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली विस्फोट भएका समाचार सार्वजनिक भएका छन्। सरकारी समाचार संस्था आईआरएनएले बन्दर अब्बासमा तीनवटा विस्फोट भएको जनाएको छ भने फार्स समाचार एजेन्सीले अहवाज क्षेत्रमा पनि विस्फोट भएको उल्लेख गरेको छ। साथै होर्मुजगान प्रान्तको सिरिक नजिकै विभिन्न प्रक्षेप्य खसेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

( विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित विवरणका आधारमा तयार गरिएको )

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु