पात्रो

रेडियो

समाचार खोजी

‘अनलाइन’ सट्टेबाजीका दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन : नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको ४२औँ बुँदाअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजीसम्बन्धी वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरेपछि प्राधिकरणले कारबाही तीव्र बनाएको हो। प्रारम्भमा सञ्चालनमा रहेका सबै बेटिङ वेबसाइट बन्द गरिए पनि नयाँ नाममा पुनः सञ्चालनमा आउने क्रम जारी रहेकाले निरन्तर निगरानी र अवरोधको काम भइरहेको प्राधिकरणले जनाएको छ।

यो वर्षको फिफा विश्वकप सुरु भएपछि यस्ता एप र वेबसाइटको प्रयोग बढ्न सक्ने आकलन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत विशेष चासो देखाएको थियो। त्यसपछि प्राधिकरणले छुट्टै कार्यदल गठन गरी इन्टरनेट सेवा प्रदायक (आइएसपी)सँग समन्वय गरेर यस्ता वेबसाइटका युआरएल ब्लक गर्ने अभियान सञ्चालन गरेको हो।

प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार अवैधानिक वेबसाइट एक–एक गरेर पहिचान गर्न कठिन हुने भएकाले सम्बन्धित निकायबाट प्राप्त विवरण र ‘थ्रेट इन्टेलिजेन्स टुल’को प्रयोगमार्फत नयाँ वेबसाइट पहिचान गरी तत्काल बन्द गर्ने व्यवस्था गरिएको छ। एउटा वेबसाइट बन्द भएपछि अर्को नयाँ नाममा खुल्ने चुनौती रहेकाले निरन्तर निगरानीका लागि छुट्टै जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो।

प्राधिकरणले अवैधानिक वेबसाइटबारे जानकारी भए सम्बन्धित लिङ्कमार्फत जानकारी गराई कारबाहीमा सहयोग गर्न पनि सर्वसाधारणसँग आग्रह गरेको छ।

61 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु