काठमाडौँ, ६ साउन: विभिन्न ६ वटा कम्पनीका संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयहरूको नाममा रहेको सेयरको लकइन (रोक्का) अवधि आगामी एक महिनाभित्र समाप्त हुने भएको छ। धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिले सामूहिक लगानी कोषको ६ महिना तथा स्थानीय र संस्थापकहरूको ३ वर्षसम्म सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। उक्त अवधि पूरा भएपछि सम्बन्धित सेयर रजिस्ट्रार कम्पनीहरूले एक महिना अगावै सूचना जारी गरेर जानकारी गराउने कानुनी प्रावधान अनुरूप नयाँ विवरण बाहिर आएको हो।
नियम अनुसार आज बुधबारदेखि नै कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १ सय ६९ कित्ता संस्थापक, स्थानीय तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिँदैछ। यसैगरी, सोलु हाइड्रोपावरले सामूहिक लगानी कोषलाई छुट्याएको ५ लाख कित्ता सेयरमा आगामी साउन ११ गते र भुजुङ हाइड्रोपावरको ५० हजार कित्ता सामूहिक लगानी कोषको सेयरमा साउन २६ गते लकइन अवधि समाप्त हुनेछ। त्यसैगरी, अपर लोहोरेखोला हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीतर्फको २८ लाख ४६ हजार ५ सय २५ कित्ता सेयरमा साउन २८ गते यो अवधि खुल्नेछ।
सबैभन्दा ठूलो मात्रामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १ सय २० कित्ता संस्थापक तथा कर्मचारीको सेयरमा साउन ३० गते लकइन अवधि सकिँदैछ भने होटल फरेस्ट इनको सामूहिक लगानी कोषका लागि छुट्याइएको २ लाख कित्ता सेयरमा भदौ ३ गते लकइन अवधि समाप्त हुनेछ। यी कम्पनीहरूको लकइन अवधि पूर्ण रूपमा समाप्त भएपछि सम्बन्धित सेयरधनीहरूलाई उक्त सेयर खुल्ला बजार मूल्यमा किनबेच गर्नका लागि औपचारिक रूपमा बाटो खुल्नेछ।