काठमाडौँ, साउन ४ गतेः अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेसँगै मध्यपूर्वमा सुरक्षा संकट गहिरिएको छ । होर्मुज जलडमरूमध्य क्षेत्रको नियन्त्रणलाई लिएर दुवै देशले एकअर्काका सैन्य ठेगाना र पूर्वाधारहरूमा भीषण आक्रमण गरेका छन् । यसैबीच, इरानले अमेरिकासँग अघिल्लो महिना भएको 'इस्लामाबाद अन्तरिम सम्झौता' एकतर्फी रूपमा निलम्बन गरेको घोषणा गरेपछि कूटनीतिक समाधानको आशा पनि समाप्त भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार इरानी उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकाले सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै इरान अब आफ्ना प्रतिबद्धताहरूमा बाँधिइरहन नसक्ने स्पष्ट पारेका छन् । सम्झौता भङ्ग भएसँगै अमेरिकी सेन्ट्रल कमाण्डले इरानको सैन्य क्षमता कमजोर पार्न लगातार सातौँ रात पनि उसको हतियार भण्डार र सञ्चार केन्द्रहरूमा हवाई आक्रमण जारी राखेको छ ।
यस युद्धको सबैभन्दा ठूलो असर छिमेकी मुलुक कुवेतमा देखिएको छ । इरानले कुवेतको एउटा तेल उद्योग र समुद्रको खारा पानीलाई पिउने योग्य बनाउने मुख्य प्लान्ट (डिसैलिनेसन प्लान्ट) मा घातक मिसाइल आक्रमण गरेको छ । कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार तेल उद्योगमा भएको आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् भने पानी प्रशोधन केन्द्रमा लागेको भीषण आगोका कारण विद्युत उत्पादन इकाइहरू बन्द गरिएका छन् । आफ्नो ९० प्रतिशत पिउने पानीका लागि समुद्रमा निर्भर रहने कुवेतमा दुई दिनभित्र भएको यो दोस्रो ठूलो आक्रमण हो ।
मिसाइल खतरा बढेपछि कुवेतले आफ्नो हवाई क्षेत्र केही समयका लागि बन्द गरी उडानहरू तालिका परिवर्तन गरेको छ । इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) ले अमेरिकी सेना रहेका क्षेत्र वा देशहरूलाई कडा जवाफी कारबाहीको चेतावनी दिएको छ ।
यसैबीच, इराकले आफ्नो एरबिल सहरमा इरानी ड्रोन खसालेको दाबी गरेको छ भने जोर्डनले पनि आफ्नो आकाशमा इरानी मिसाइलहरू नष्ट गरेको जनाएको छ । तनावका कारण बहराइन र साउदी अरबमा समेत लगातार खतराको साइरन बजिरहेकाले मध्यपूर्वमा ठूलो क्षेत्रीय युद्धको त्रास फैलिएको छ ।