पात्रो

रेडियो

समाचार खोजी

एडीबीको प्रक्षेपण: नेपालको आर्थिक वृद्धिदर सन् २०२६ मा ३.९ प्रतिशतमा खुम्चिने

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

काठमाडौँ, २५ असार: एसियाली विकास बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर सुस्त भएर ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। बैंकका अनुसार समग्र एसिया प्रशान्त क्षेत्रमै देखिएको आर्थिक सुस्तताको असर नेपालमा पनि पर्न गएको हो। एडीबीले यसअघि सन् २०२५ मा नेपालको वृद्धिदर ४.४ प्रतिशत रहने अनुमान गरेको थियो भने सन् २०२७ मा यो बढेर ४.५ प्रतिशत पुग्ने उल्लेख गरेको छ।

एडीबीको यो प्रक्षेपण नेपाल सरकार र केन्द्रीय बैंकले तय गरेको लक्ष्यभन्दा निकै न्यून हो। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति मार्फत आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यसअघिको सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको लक्ष्य राखेको भए तापनि वास्तविक वृद्धिदर ३.८५ प्रतिशतको आसपास मात्रै रहने अनुमान छ।

विश्वव्यापी आर्थिक दबाब, बढ्दो मुद्रास्फीति (महँगी), आपूर्ति शृङ्खलामा आएको अवरोध र वैदेशिक तनावका कारण समग्र एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक गतिविधि प्रभावित भएको एडीबीले स्पष्ट पारेको छ। यद्यपि, यी चुनौतीका बाबजुद सन् २०२६ मा दक्षिण एसियाली क्षेत्रको समग्र आर्थिक वृद्धिदर भने ६ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

दक्षिण एसियाभित्र सन् २०२६ मा भारतले सबैभन्दा बढी ६.६ प्रतिशत र भुटानले ६.५ प्रतिशतको बलियो आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण छ। यसैगरी श्रीलंकाको वृद्धिदर ४ प्रतिशत, बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत, अफगानिस्तानको २.३ प्रतिशत र माल्दिभ्सको सबैभन्दा कम १ प्रतिशत मात्र रहने अनुमान छ। दक्षिण एसिया बाहिर चीनको अर्थतन्त्र सन् २०२६ मा ४.६ प्रतिशतले विस्तार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु