काठमाडौँ, २५ असार: साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको गैर-बैंकिङ्ग अचल सम्पत्ति बिक्रीका लागि सार्वजनिक सूचना जारी गर्दै शिलबन्दी बोलपत्र आह्वान गरेको छ। बैंकले कर्जा सुरक्षण बापत बैंकको नाममा सकार भई आएका विभिन्न स्थानका घर, जग्गा तथा अन्य अचल सम्पत्तिहरू "जस्तो छ, त्यस्तै अवस्थामा" बिक्री गर्न लागेको हो।
बैंकको केन्द्रीय कार्यालय तथा मातहतका सम्बन्धित क्लस्टर कार्यालयहरू मार्फत जारी यस सूचना अनुसार इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले तोकिएको म्यादभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन बुझाउनुपर्नेछ। बोलपत्र फाराममा आफूले लिन चाहेको सम्पत्तिको स्पष्ट विवरण र खरिद गर्न चाहेको रकम अंक र अक्षर दुवैमा स्पष्ट खुलाई पेश गर्नुपर्ने बैंकले जनाएको छ।
आवेदनका साथ आफूले कबोल गरेको कुल रकमको १० प्रतिशत बराबरको रकम बैंक जमानत वा बैंकको खातामा नगद जम्मा गरेको भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्ने सर्त राखिएको छ। रीतपूर्वक प्राप्त भएका बोलपत्रहरू मध्ये सबैभन्दा बढी मूल्य कबोल गर्ने बोलपत्रदाताको आवेदन स्वीकृत गरिनेछ। बोलपत्र स्वीकृत वा अस्वीकृत गर्ने अथवा आंशिक रूपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहनेछ। बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण, स्थान, क्षेत्रफल र बोलपत्र फाराम प्राप्त गर्ने प्रक्रियाका लागि बैंकको आधिकारिक वेबसाइट वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।