पात्रो

रेडियो

समाचार खोजी

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिँदै

यस कदमबाट घरेलु बजारमा करिब ३५ करोड रुपैयाँ बराबरको नयाँ लगानी सुनिश्चित भएको छ।

साझा अर्थ संवाददाता २४ असार २०८३, बुधवार

काठमाडौँ, २४ असार : चालू आर्थिक वर्ष २०८२/८३ को समाप्ति नजिकिँदै गर्दा धरान औद्योगिक क्षेत्रमा पाँचवटा नयाँ उत्पादनमूलक उद्योगहरू स्थापनाका लागि अनुमति प्रदान गरिएको छ। वर्षौँदेखि निष्क्रिय रहेका उद्योगहरूको जग्गा सम्झौता रद्द गरी खुला प्रतिस्पर्धात्मक कानुनी प्रक्रिया पूरा गरेपछि नयाँ लगानीकर्तालाई मार्गप्रशस्त गरिएको हो। धरान औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख जीव नारायण बन्जाडेका अनुसार यस कदमबाट घरेलु बजारमा करिब ३५ करोड रुपैयाँ बराबरको नयाँ लगानी सुनिश्चित भएको छ।

अनुमति पाउने नयाँ उद्योगहरूमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जीढी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक कटेज इन्डस्ट्री, जेआर भेन्चर्स र सूर्य डाइमन्ड इन्डस्ट्रिज रहेका छन्। यीमध्ये सूर्य डाइमन्ड इन्डस्ट्रिजको सम्झौता भने केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको छ। यी नयाँ उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने आँकलन गरिएको छ। नयाँ सञ्चालन हुन लागेका उद्योगहरूले खानेपानीका मिटर तथा फिटिङ्स, निर्माण सामग्री, खाद्य वस्तु, पशुपन्छीको दाना र घरायसी भाँडाकुँडाहरू उत्पादन गर्नेछन्।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले आयात प्रतिस्थापन, सरकारी राजस्व वृद्धि, स्थानीय अर्थतन्त्रको सबलीकरण र निर्यात प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै उत्पादनमूलक उद्योगहरू छनोट गरेको स्पष्ट पारेको छ। यहाँ उत्पादन हुने कतिपय सामग्रीहरू अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सकिने बलियो सम्भावना रहेको कार्यालय प्रमुख बन्जाडेले उल्लेख गर्नुभएको छ। विक्रम संवत २०३२ सालमा स्थापना भएको धरान औद्योगिक क्षेत्रमा हाल कुल ३५ वटा उद्योगहरू दर्ता रहेका छन्। जसमध्ये ३० वटा उद्योगहरू हाल सञ्चालनमा छन् भने बाँकी ५ वटा स्थापनाको चरणमा प्रवेश गरेका हुन्। यी उद्योगहरूले समग्रमा हाल करिब १ हजार श्रमिकलाई रोजगारी प्रदान गरिरहेका छन्।

18 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु