काठमाडौं, २४ असारः आगामी आर्थिक वर्षका लागि तय गरिएको राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व प्रशासनलाई परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ । मन्त्री वाग्लेलले मंगलवार बाठमाडौमा आयोजित एक कार्यक्रममा सो निर्देशन दिनु भएको हो ।
उहाँले राजस्व संकलनलाई प्रभावकारी बनाउँदै कर प्रणालीमा पारदर्शिता र सुशासन कायम गर्न जोड दिनुभएको हो ।
भन्सार विभागका नवनियुक्त महानिर्देशक यमलाल भुसाल, आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाल तथा भन्सार विभागका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई जिम्मेवारी सम्हाल्नुअघि सम्बोधन गर्दै अर्थमन्त्रीले आगामी वर्षको ‘मिसन १६ खर्ब’ सफल बनाउन पूर्ण समर्पणका साथ काम गर्न आग्रह गर्नुभयो।
उहाँले राजस्व चुहावट नियन्त्रण, स्वेच्छिक कर दाखिला बढाउने वातावरण निर्माण तथा करदातालाई कर तिर्न प्रोत्साहित गर्ने कार्यमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। यी लक्ष्य पूरा गर्न आवश्यक नीतिगत र प्रशासनिक सहयोग मन्त्रालयबाट उपलब्ध गराइने पनि उहाँले स्पष्ट पार्नुभयो।
अर्थमन्त्री वाग्लेले भन्सार र कर प्रशासनलाई आधुनिक सूचना प्रविधिसँग आबद्ध गरी सेवा प्रवाहलाई छिटो, पारदर्शी र विश्वासयोग्य बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँका अनुसार आन्तरिक राजस्व र भन्सार आम्दानी सुदृढ बनाउन सके मुलुकको आर्थिक आधार बलियो हुने, बाह्य ऋणमा निर्भरता घट्ने र विकासका कार्यक्रम आफ्नै स्रोतबाट अघि बढाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले मातहतका कार्यालयमा अनियमितता वा गलत कार्यमा संलग्न कर्मचारीमाथि कडा कारबाही गर्न र इमानदारी तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्न पनि निर्देशन दिनुभयो।
गत असार १८ गतेको मन्त्रिपरिषद् बैठकले तीनै जना सहसचिवलाई अर्थ मन्त्रालयअन्तर्गत नयाँ जिम्मेवारीमा सरुवा गरेको थियो। नवनियुक्त अधिकारीहरूले अर्थमन्त्रीले दिएको निर्देशन इमानदारीपूर्वक कार्यान्वयन गर्दै निर्धारित राजस्व लक्ष्य पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन्।