काठमाडौं, २३ | नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड एक आपसमा गाभिएर ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन हुने जनाएको छ।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार इजाजतपत्रप्राप्त संस्था पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड गाभिएपछि साविकका दुवै संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सरेको छ।
सूचनामा दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबार एकीकृत रूपमा २०८३ असार २६ गते शुक्रबारदेखि राष्ट्रियस्तरको वित्तीय संस्था ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुने उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को पाँचौँ संशोधन २०७९ अन्तर्गत विनियम ११ को उप–विनियम ७ बमोजिम सर्वसाधारणको जानकारीका लागि उक्त सूचना प्रकाशित गरेको हो।
यो निर्णय लगानीकर्ता तथा निक्षेपकर्ताका लागि महत्वपूर्ण मानिएको छ, किनकि गाभिएपछि संस्थाको कारोबार, सम्पत्ति तथा दायित्व एउटै संस्थामार्फत सञ्चालन हुनेछ।