काठमाडौं– नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ङ’ जारी गर्ने भएको छ। केन्द्रीय बैंकले एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोलमार्फत जारी गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल २०८३ असार २३ गते मध्याह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत गर्न सकिनेछ। ऋणपत्रको निष्कासन मिति पनि असार २३ गते नै तोकिएको छ।
उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार २३ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ।
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। सहभागी काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर उल्लेख गर्दा दशमलवपछि चार अंकसम्म राख्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ। बोलकबोल रकम पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्नेछ।
ऋणपत्रलाई राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। स्वीकृत बोल रकम सम्बन्धित बोलकर्ताको लगानी पोर्टफोलियोमा रहने भएकाले उक्त रकम अनिवार्य नगद मौज्दात अर्थात् सीआरआरमा गणना गर्न पाइनेछैन। तर, वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने उक्त रकम गणना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
ऋणपत्र निष्कासन मितिमा काउण्टरपार्टीको खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रकम रद्द हुने र २.५० प्रतिशत जरिवानासहित ६ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गतका बोलकबोलमा सहभागी हुन रोक लगाइने सूचनामा उल्लेख छ।