काठमाडौँ, २४ असार: नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न २० अरब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने घोषणा गरेको छ। नयाँ मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्टै केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको "राष्ट्र बैंक ऋणपत्र २०८४ छ" जारी गर्न लागेको हो। यस ऋणपत्रको निष्कासन आजै अर्थात् असार २४ गते हुँदै छ।
केन्द्रीय बैंकका अनुसार यस बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत नै निर्धारण हुनेछ र लगानीकर्ता संस्थाहरूले प्रत्येक छ महिनामा ब्याज भुक्तानी पाउनेछन्। १ वर्षको परिपक्वता अवधि पूरा भएपछि आगामी २०८४ असार २४ गते यसको सावाँ रकम फिर्ता भुक्तानी गरिनेछ।
यो ऋणपत्रलाई राष्ट्र बैंक वा अन्य वित्तीय संस्थाहरूबाट ऋण लिनका लागि धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसमा लगानी गरिएको रकमलाई अनिवार्य नगद अनुपात कायम गर्न प्रयोग गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपातको आवश्यकता पूरा गर्न भने गणना गर्न पाइनेछ। राष्ट्र बैंकले बोलकबोलमा सफल भएको संस्थाको खातामा निष्कासन मितिका दिन पर्याप्त रकम नभएमा २.५० प्रतिशत वित्तीय जरिबाना गरिने र आगामी छ महिनाका लागि खुला बजार बोलकबोल प्रक्रियामा सहभागी हुन बन्देज लगाइने चेतावनीसमेत दिएको छ।