काठमाडौं, २४ असार – प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने, लगानीको वातावरण सुधार गर्ने तथा निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आज उद्योगी तथा व्यवसायीहरूसँग उच्चस्तरीय संवाद गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय विस्तार तथा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिनुभयो।
बैठकमा निजी क्षेत्रका तीन प्रमुख छाता सङ्गठनका शीर्ष नेतृत्व सहभागी हुनेछन्। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसङ्घ (सीएनआई)का निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा, साथै नेपाल चेम्बर अफ कमर्स (एनसीसी)का अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता सङ्गठनका नेतृत्वसँग औपचारिक रूपमा गर्न लाग्नुभएको यो पहिलो संवाद भएकाले यसलाई अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। निजी क्षेत्रले लामो समयदेखि लगानीमैत्री नीति, व्यवसाय सञ्चालनमा देखिएका कानुनी तथा प्रशासनिक जटिलताको समाधान, उत्पादन र रोजगारी प्रवर्द्धन तथा आर्थिक गतिविधिलाई गति दिने विषयमा सरकारसँग निरन्तर संवादको आवश्यकता औँल्याउँदै आएको छ।
आजको बैठकबाट निजी क्षेत्रका सुझावलाई समेटेर आर्थिक सुधारका ठोस नीति तथा कार्यक्रम अघि बढाउने दिशामा साझा समझदारी बन्ने अपेक्षा गरिएको छ।