काठमाडौं: देशका अधिकांश जिल्लामा बर्डफ्लु नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम अझै उच्च रहेको छ। पशु स्वास्थ्य बिभागका अनुसार पूर्वदेखि मधेस र बागमतीका विभिन्न जिल्लामा देखिएको संक्रमण नियन्त्रणमा आइसकेको भए पनि उपत्यका र काभ्रेमा सतर्कता कायमै राख्नुपर्ने अवस्था रहेको हाे ।
पशु सेवा विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा संक्रमण पूर्ण रूपमा अन्त्य भइसकेको अवस्था छैन। विशेषगरी काभ्रेपलाञ्चोकमा संक्रमण फैलिने क्रम अझै देखिएकाले निगरानी र नियन्त्रणका गतिविधि निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिए।
विभागका तथ्यांकअनुसार संक्रमण नियन्त्रण अभियानअन्तर्गत हालसम्म देशभर सात लाख ५४ हजार ५०० भन्दा बढी पन्छी नष्ट गरिएको छ। यसका साथै १० लाख ९१ हजार ३०३ वटा अण्डा र दुई लाख ४३ हजार ६३५ किलोग्राम दाना पनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ, ताकि संक्रमण थप फैलिन नपाओस्।
काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा मात्रै दुई लाख ८६ हजार २७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा तथा करिब ७४ हजार किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ। यी क्षेत्रमा संक्रमणको जोखिम उच्च रहेकाले नियन्त्रणका उपायलाई अझ प्रभावकारी बनाइएको बताइएको छ।
विभागका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन सम्पन्न गरी संघीय, प्रदेश तथा स्थानीय तहसँग समन्वयमा प्रतिवेदन तयार गरिएको छ। सोही प्रतिवेदनका आधारमा संक्रमित फार्मका पन्छी नष्ट गर्ने, जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने तथा रोगको थप फैलावट रोक्न आवश्यक अन्य नियन्त्रणात्मक कार्यक्रम कार्यान्वयन भइरहेको जनाइएको छ। सम्बन्धित निकायले किसानलाई कुनै पनि असामान्य लक्षण देखिए तत्काल जानकारी गराउन तथा जैविक सुरक्षा उपाय कडाइका साथ अपनाउन आग्रह गरेको छ।