काठमाडौं । सन् २०२५ को तेस्रो महिना अर्थात् मार्चमा एक लाख २१ हजारबढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सार्क राष्ट्रसँगै एशियाली मुलुक, अमेरिकी तथा अन्य सामुन्द्रिक मुलुकहरुबाट एक लाख २१ हजार ६८७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन् ।
बोर्डका अनुसार समीक्षा अवधिमा कूल पर्यटक आगमनमध्ये दक्षिण एशियाली मुलुकहरुबाट ३५ हजार २८७ अर्थात् २९ प्रतिशत पर्यटक आगमन भएको छ भने अन्य एशियाली मुलुकहरुबाट ३१ हजार ३५१ जना पर्यटक भित्रिएका छन् । जसमध्ये सबैभन्दा बढी भारतबाट २१ हजार ४१२ जना भित्रिएका छन् भने चीनबाट ११ हजार ४४३ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यसैगरी समीक्षा अवधिमा अमेरिकाबाट ११ हजार ९२ जना पर्यटक नेपाल भित्रिरहँदा श्रीलंकाबाट ८ हजार ८८६ जना र बेलायतबाट ५ हजार ९९५ जना भित्रिएका छन् ।
साझा अर्थ संवाददाता