पात्रो

रेडियो

समाचार खोजी

९९ जलविद्युत् आयोजनाले पाए सर्भे लाइसेन्स

साझा अर्थ संवाददाता ५ साउन २०८३, मङ्गलवार

काठमाडौँ, ५ साउन: देशमा ऊर्जा विकासको गति बढाउने उद्देश्यका साथ विद्युत् विकास विभागले गत आर्थिक वर्ष २०८२/८३ मा कुल तीन हजार २११ मेगावाट क्षमताका ९९ वटा जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमतिपत्र (सर्भे लाइसेन्स) प्रदान गरेको छ।

विभागका अनुसार जलविद्युत्‌का अतिरिक्त नवीकरणीय ऊर्जातर्फ आकर्षण बढाउँदै ३११ मेगावाट क्षमताका सात वटा सौर्य ऊर्जा आयोजनालाई पनि सर्वेक्षणको स्वीकृति दिइएको छ। आयोजनाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि आवश्यक २२० केभी (१७९ सर्किट किमी), १३२ केभी (२७० सर्किट किमी) र ३३ केभी (१३२ सर्किट किमी) क्षमताका प्रसारण लाइनको सर्भे अनुमतिसमेत जारी गरिएको छ।

सर्वेक्षणसँगै निर्माण प्रक्रियामा जान तयार भएका आयोजनाहरूलाई उत्पादन अनुमतिपत्र दिने कार्यमा पनि प्रगति भएको छ। सोही अवधिमा एक हजार ८५७ मेगावाट बराबरका २९ जलविद्युत् र ३१ मेगावाटका तीन सौर्य ऊर्जा आयोजनाले उत्पादनको स्वीकृति पाएका छन्।

विभागकी महानिर्देशक मनदेवी श्रेष्ठका अनुसार हालसम्म जलविद्युत्तर्फ कुल १२ हजार ३३६ मेगावाट क्षमताका २६४ आयोजना र सौर्य ऊर्जातर्फ ७४.६ मेगावाटका १० आयोजनाले उत्पादन अनुमति पाइसकेका छन्। राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभीदेखि ३३ केभीसम्मका हजारौँ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणको अनुमति दिइसकिएको छ।

यसैबीच, जलस्रोतको उपयोगबाट विभागले वार्षिक करिब रु तीन अर्ब ५० करोड रोयल्टी सङ्कलन गर्दै आएको छ। उक्त रकम प्रदेश र स्थानीय तहसम्म बाँडफाँट हुने भएकाले यसले तल्लो तहको आर्थिक वृद्धि र विकास निर्माणमा प्रत्यक्ष सहयोग पुर्‍याइरहेको विभागको भनाइ छ।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु