काठमाडौं, ६ साउन: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ। देशका हिमाली भूभागका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाले भारी वर्षा हुने सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेको जनाएको छ। यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
महाशाखाले सबैलाई विभागको पछिल्लो सूचनामा अद्यावधिक रहनसमेत अनुरोध गरेको छ।