पात्रो

रेडियो

समाचार खोजी

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

साझा अर्थ संवाददाता १२ चैत २०८१, मङ्गलवार

डुम्रे (तनहुँ), १२ चैतः यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत हुनुभएको छ । उहाँले प्रोत्साहन स्वरुप रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभएको हो । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उहाँले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिनुभयो । 

पाँच वर्ष अघिदेखि कृषि पेशामा लाग्नुभएका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गर्नुभएको छ । उहाँले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गर्नुभएको थियो । उहाँका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन् । जसमध्ये १५ लैना गाईबाट दैनिक दुई सय लिटर दूध उत्पादन गरी मासिक रु चार लाखको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताउनुभयो । 

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक रु दुई लाख बचत हुने गरेको उहाँले बताउनुभयो । बाँस्तोलाले भन्नुभयो, “उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महशुस भएको छ ।”

यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टी मिलेको बाँस्तोलाको भनाइ छ । बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उहाँ गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताउनुभयो । 

गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आउनुभएको छ । उहाँले ५० वटा बोयर बाख्रा पाल्नुभएको छ । गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताउनुभयो । सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ । व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेशा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ । 

299 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु