पात्रो

रेडियो

समाचार खोजी

भेरी–बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी प्रसारण लाइन निर्माण हुने

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

काठमाडौँ, २५ असार : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको नयाँ प्रसारण लाइन निर्माण गरिने भएको छ। आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ।

आयोजनाअन्तर्गत करिब १.७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ। यसका लागि नौवटा टावर निर्माण गरिनेछन्, जसमध्ये तीनवटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी छवटा मध्यवर्ती क्षेत्रमा पर्नेछन्। प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहने जनाइएको छ।

प्रसारण लाइन निर्माणबाट सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ र बर्दिया राष्ट्रिय निकुञ्जको केही क्षेत्र प्रभावित हुने भएकाले आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढाएको छ। प्रतिवेदन तयारीका क्रममा सरोकारवालासँग आवश्यक सुझावसमेत माग गरिएको छ।

भेरी नदीको पानी १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने तथा सोही पानीबाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ।

आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी निर्माण कार्य सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ।

आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने सिभिल, हाइड्रो–मेकानिकल र इलेक्ट्रो–मेकानिकल संरचनाको निर्माण कार्य जारी छ। यसैबीच, प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको पूर्वस्वीकृति प्रक्रिया पनि अघि बढाइएको आयोजनाले जनाएको छ।

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु