पात्रो

रेडियो

समाचार खोजी

सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु

साझा अर्थ संवाददाता २५ असार २०८३, बिहिवार

कास्की, २५ असार : कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा विद्युत् प्रवाह गर्न थालेको हो।

विसं २०७८ मङ्सिरमा निर्माण सुरु भएको आयोजनाको निरीक्षण तथा प्राविधिक परीक्षणपछि उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको कम्पनीका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। उहाँका अनुसार आयोजना प्रारम्भिक १५ दिन परीक्षण अवधिमा रहनेछ। यस अवधिमा उत्पादन गरिएको विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक कार्यसम्पादनसमेत परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि नियमित व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ।

आयोजनाले गत मङ्सिरमै उत्पादन सुरु गर्ने लक्ष्य राखे पनि प्रसारण लाइन निर्माणका लागि आवश्यक वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन केही महिना पछाडि धकेलिएको थियो। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक अनुमति प्राप्त गर्न समय लागेको कम्पनीले जनाएको छ।

पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको बाँधबाट तीन हजार १०६ मिटर लामो सुरुङमार्फत पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्‍याइएको छ। विद्युत्गृहमा ११–११ मेगावाट क्षमताका दुईवटा टर्बाइन जडान गरिएको छ।

करिब रु पाँच अर्ब पाँच करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाले व्यावसायिक उत्पादन सुरु भएपछि आगामी आर्थिक वर्षभित्र सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारीसमेत गरेको जनाएको छ।

3 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु