काठमाडौँ, २५ असार : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ। आयोजनालाई आगामी आर्थिक वर्षका लागि सरकारले रु ६ अर्बभन्दा बढी बजेट विनियोजन गरेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
आयोजनाको समग्र भौतिक प्रगति हाल ७५ दशमलव ५ प्रतिशत पुगेको आयोजनाले जनाएकाे छ । आयोजनाको निर्माण तीनवटा प्याकेजमार्फत भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत बाँध (हेडवर्क्स) लगायतका संरचनाको निर्माण भइरहेको छ भने दोस्रो प्याकेजमा मुख्य सुरुङ, विद्युत्गृह र सम्बन्धित उपकरण जडानको काम तथा तेस्रो प्याकेजमा दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माण भइरहेको छ।
बाँध निर्माणतर्फ हालसम्म ५९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ। मुख्य बाँधका लागि आवश्यक डाँडा कटान, पहुँच सडक, सेती नदीको धार परिवर्तन गर्न बनाइएको अस्थायी बाँध तथा दुईवटा डाइभर्सन सुरुङ निर्माण सम्पन्न भइसकेका छन्।
त्यसैगरी विद्युत्गृह, केवल सुरुङ, सर्च ट्याङ्क र टेलरेसलगायत संरचनाको मुख्य कङ्क्रिटिङ कार्य सम्पन्न भइसकेको छ। यस प्याकेजको भौतिक प्रगति ७७ प्रतिशत पुगेको छ भने जलाशयबाट विद्युत्गृहतर्फ पानी लैजाने मुख्य सुरुङमा कङ्क्रिट लाइनिङको काम जारी रहेको आयोजनाले जनाएको छ।
यता दमौली–भरतपुर २२० केभी प्रसारण लाइनअन्तर्गत निर्माण गरिने ९४ वटा टावरमध्ये ७८ वटा टावरको जग हाल्ने कार्य सम्पन्न भइसकेको छ। सरकारले उपलब्ध गराएको नयाँ बजेटसँगै आयोजनाको बाँकी निर्माण कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ।