काठमाडौँ, १० साउन: महालक्ष्मी विकास बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘राइजिङ स्टार ग्रोथ’ अवार्डबाट सम्मानित भएको छ। भारतको कलकत्तास्थित इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकले उक्त ऐतिहासिक सफलता हात पारेको हो। बिमस्टेक क्षेत्रमा अत्यधिक प्रतिष्ठित मानिने यस कनक्लेभमा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका प्रमुख वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो।
डिजिटल बैंकिङ सेवाको तिब्र विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसायमा भएको वृद्धि, वित्तीय पहुँचको अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा उत्कृष्ट कार्य गरेबापत बैंकलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। यसअघि गत वर्ष पनि बैंक ‘सम्पत्ति गुणस्तर’ विधा अन्तर्गत सम्मानित भइसकेको थियो। लगातार प्राप्त भइरहेका यस्ता अन्तर्राष्ट्रिय मान्यताहरूले क्षेत्रीय तथा विश्व बजारमा बैंकको सुदृढ पहिचान स्थापित गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात् गर्दै आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको आधुनिक डिजिटल हब समेत सञ्चालनमा ल्याएको छ। यस प्रकारका अन्तर्राष्ट्रिय सम्मानले बैंकका सेयरधनी, ग्राहक तथा समग्र सुशासनमा थप सकारात्मक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।