काठमाडौं, १० साउन। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा प्रदान गरिएको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ।
भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले बैंकका तर्फबाट उक्त अवार्ड ग्रहण गरेका हुन्।
बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाको निरन्तर सहयोगको प्रतिफलस्वरूप उक्त अवार्ड प्राप्त भएको जनाएको छ। अवार्डले बैंकिङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा मिलेको बैंकको भनाइ छ।
बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले अवार्डप्रति खुसी व्यक्त गर्दै बैंकलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिएका छन्।
बैंकका अनुसार अवार्ड कार्यक्रममा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैंकहरूको सहभागिता थियो।
नबिल बैंकले हालै युरोमनी अवार्ड्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स बेस्ट बैंक’, ‘नेपाल्स बेस्ट बैंक फर ईएसजी’ र ‘नेपाल्स बेस्ट बैंक फर एसएमई’ उपाधि पनि प्राप्त गरेको जनाएको छ।
बैंकले हाल देशभरका २६४ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताएको छ।