काठमाडौं, ११ साउन २०८३: ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा नागरिक एपबाटै व्यक्तिगत बचत खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
राष्ट्रिय परिचयपत्र बनाएका र नागरिक एपमा आबद्ध भएका १८ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले अनलाइनबाटै बैंक खाता खोल्न सक्ने बैंकले जनाएको छ।
खाता खोल्न चाहने व्यक्तिले नागरिक एपमार्फत बैंकको वेबसाइटमा रहेको क्यूआर कोड स्क्यान गर्न सक्नेछन्। खाता खोल्ने प्रक्रिया सुरु गर्न आवश्यक क्यूआर कोड तथा अन्य विवरण nagarik.gibl.com.np लिंकमा उपलब्ध रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार नेपालमै पहिलोपटक सुरु गरिएको यस सेवाले नागरिकलाई बैंक खाता खोल्ने प्रक्रिया थप सहज बनाउनेछ।
यस सेवाअन्तर्गत सम्बन्धित व्यक्तिको पूर्वसहमति लिएर खाता खोल्न आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिनेछ। यसबाट ग्राहकले व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने बैंकको भनाइ छ।
नागरिक एपबाट विवरण प्राप्त गरिने भएकाले ग्राहकको गोपनीयता तथा सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकले जनाएको छ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालन गर्न भने ग्राहकले नजिकको ग्लोबल आइएमई बैंक शाखामा गएर वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ।
सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरु गरिएको यस सेवाले खाता खोल्ने प्रक्रियालाई थप सहज, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने बैंकले विश्वास लिएको छ। यसबाट ग्राहकलाई आधुनिक बैंकिङ अनुभव प्रदान गर्न सहयोग पुग्ने बैंकको भनाइ छ।
ग्लोबल आइएमई बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार उसले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ उपाधि प्राप्त गरेको छ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ लगायत पुरस्कार प्राप्त गरेको जनाएको छ।
ग्लोबल आइएमई बैंकले आफू मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक भएको जनाएको छ। हाल बैंकले ३४२ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत नेपालमा विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।