काठमाडौँ, ११ साउन: नेपालमा कुल विद्युत् माग ७३ हजार ६२९ मेगावाट-आवर पुगेको छ भने वर्षायाम सुरु भएपछि देशभित्र उत्पादित अतिरिक्त विद्युत् भारततर्फ निर्यात गर्ने क्रम निरन्तर जारी रहेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट कुनै पनि किसिमको बिजुली आयात गरेको छैन। यसको सट्टा, वर्षायाममा आन्तरिक उत्पादन मागभन्दा उच्च भएपछि मुलुकले २२ हजार १०२ मेगावाट-आवर बिजुली बाह्य बजारमा बिक्री गरिरहेको छ।
समीक्षा अवधिमा राष्ट्रिय प्रसारण प्रणालीमा निजी ऊर्जा उत्पादकहरूको योगदान सबैभन्दा उच्च देखिएको छ। निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले कुल ४७ हजार ५६३ मेगावाट-आवर विद्युत् राष्ट्रिय प्रणालीमा आपूर्ति गर्दै आएका छन्। यसैगरी, नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीहरूबाट १७ हजार १०८ मेगावाट-आवर र प्राधिकरणको प्रत्यक्ष स्वामित्वमा सञ्चालित आयोजनाहरूबाट ८ हजार ९५९ मेगावाट-आवर बिजुली उत्पादन भइरहेको छ।
वर्षायाममा नदी तथा खोलाहरूमा पानीको बहाव उच्च हुने र जलविद्युत आयोजनाहरूले आफ्नो पूर्ण क्षमतामा कार्य गर्ने हुँदा विद्युत् उपलब्धता उल्लेखनीय रूपमा बढेको हो। प्राधिकरणका अनुसार साँझको पिक आवर (व्यस्त समय) मा भने विद्युत् माग ३ हजार २४८ मेगावाट-आवर पुगेको छ। ऊर्जा क्षेत्रमा देखिएको यो आत्मनिर्भरताले मुलुकको अर्थतन्त्रलाई थप सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
-RSS