काठमाडौँ, २९ असार: बीमा कम्पनीहरूबाट दाबी भुक्तानी पाउन ढिलाइ भएका वा प्रक्रियामा अन्यायमा परेका विमितहरूका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले न्यायको बाटो खोलेको छ। प्राधिकरणले एक विशेष सार्वजनिक सूचना जारी गर्दै कुनै पनि बीमा कम्पनी, तिनका जिम्मेवार कर्मचारी वा बीमा सर्भेयरले कानुन विपरीत दुःख दिएमा वा दाबी भुक्तानी रोकेमा प्रमाणसहित उजुरी दर्ता गर्न सर्वसाधारणलाई आह्वान गरेको हो।
प्राधिकरणका अनुसार बीमा दाबी प्रक्रियामा अनावश्यक ढिलासुस्ती गर्ने, गलत विवरण तयार पारी वास्तविक तथ्य लुकाउने, वा पक्षपातपूर्ण मूल्याङ्कन गरेर विमितलाई आर्थिक नोक्सानी पुर्याउने कार्य दण्डनीय हुनेछन्। यसका साथै दाबी फर्स्यौट गरिदिने बहानामा कुनै पनि प्रकारको अनुचित लाभ वा घूस माग गरेमा त्यस्ता कम्पनी वा प्रतिनिधि विरुद्ध सिधै उजुरी हाल्न सकिने व्यवस्था गरिएको छ।
उजुरीकर्ताले आफ्नो दाबीलाई पुष्टि गर्ने आवश्यक कागजात, बीमालेख नम्बर र सम्बन्धित कम्पनीको विवरण खुलाएर ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालय वा प्रादेशिक कार्यालयहरूमा उजुरी दिन सक्नेछन्। यसका लागि प्रत्यक्ष उपस्थित हुन नसकेमा हुलाक वा प्राधिकरणको आधिकारिक इमेल सञ्जालको समेत प्रयोग गर्न सकिनेछ। रीतपूर्वक प्राप्त भएका उजुरीहरूमाथि कडा छानबिन गरी दोषी ठहरिने पक्षलाई बीमा ऐन, २०७९ बमोजिम कडा कानुनी कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।