काठमाडौं, २३ असारः राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई अझ सशक्त र प्रभावकारी बनाउन विशिष्टीकृत वित्तीय संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ। संस्थाको २५औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
साना किसानको घरदैलोमै पुगेर वित्तीय सेवा, उत्पादन र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने काममा संस्थाले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो। ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि विस्तार, गरिबी न्यूनीकरण तथा किसानको आर्थिक सशक्तीकरणमा संस्थाले पुर्याएको योगदानलाई थप प्रभावकारी बनाउन यसको कार्यक्षेत्र र क्षमता विस्तार आवश्यक रहेको उहाँको भनाइ थियो।
उपाध्यक्ष भट्टले साना किसानको आर्थिक उन्नतिबाट मात्रै दिगो आर्थिक तथा सामाजिक रूपान्तरण सम्भव हुने उल्लेख गर्दै सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँले किसानलाई आत्मविश्वासका साथ कृषि उत्पादन र उद्यममा सक्रिय हुन पनि आग्रह गर्नुभयो।
सरकारले सरकारी, निजी तथा सहकारी क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै आर्थिक सुदृढीकरण र संस्थागत दिगोपनका कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उहाँले सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सबै क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले साना किसान अभियानले सरकारको आर्थिक तथा सामाजिक रूपान्तरणको यात्रामा निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। आगामी दिनमा पनि अभियानमा आबद्ध संस्था र सदस्यहरू विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध रहने उहाँको भनाइ थियो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको वित्तीय अवस्था, सेवा विस्तार, व्यवसायिक प्रगति तथा आगामी रणनीतिक योजनाबारे जानकारी गराउनुभएको थियो।