पात्रो

रेडियो

समाचार खोजी

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी, स्थानीय उत्पादन ब्रान्डिङसहित बजारमा

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

तनहुँ : तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै गएपछि स्थानीय कृषिउपजको ब्रान्डिङ, लेबलिङ, प्याकेजिङ र बजारीकरणमा उल्लेखनीय सुधार देखिएको छ। कृषि विकास कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको कार्यक्रममार्फत किसान, कृषि समूह र सहकारीद्वारा उत्पादित वस्तुको मूल्य अभिवृद्धि गरी बजार पहुँच विस्तार गरिएको हो।

कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारका अनुसार कार्यक्रमअन्तर्गत बेसार, अदुवा, मह, सातु, तोरीको तेल, मकै, फापर, कोदो, गहुँ तथा चामलको पिठो, प्रशोधित चामल, मकैजन्य परिकार र विभिन्न दलहनका उत्पादनलाई आकर्षक प्याकेजिङसहित बजारमा ल्याउन प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरिएको छ। यसले उपभोक्ताको विश्वास बढाउनुका साथै किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्।

उहाँका अनुसार उत्पादन बढाउनु मात्र पर्याप्त नभई प्रशोधन, ब्रान्डिङ र गुणस्तरीय प्याकेजिङमार्फत बजारको मागअनुसार बिक्री गर्न सके कृषि व्यवसायलाई दिगो बनाउन सकिन्छ। आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न स्थानीय उत्पादनको पहिचान स्थापित गर्न पनि यस्तो कार्यक्रम प्रभावकारी बनेको उहाँको भनाइ छ।

हाल घिरिङ गाउँपालिकाको सुन्धारा महिला समूह र भिमाद नगरपालिकाको सिद्ध बहुउद्देश्य सहकारी संस्थाले बेसार प्याकेजिङ गर्दै आएका छन्। शुक्लागण्डकी सातु उद्योगले स्थानीय उत्पादनबाट सातु तयार गरी बजारमा पठाइरहेको छ भने व्यास नगरपालिका–१२ स्थित मित्र राइस मिलले ब्रान्डिङसहित चामल बिक्री गरिरहेको छ। भानु–१ मा तोरीको तेल उत्पादन भइरहेको छ भने आँबुखैरेनीका कृषक समूहले कोदोको पिठो, मकैको च्याख्ला र दालजन्य उत्पादन प्याकेजिङ गरी बजारमा उपलब्ध गराउँदै आएका छन्।

कृषि विकास कार्यालयले आगामी आर्थिक वर्षमा कार्यक्रमलाई थप विस्तार गर्दै बढी किसान, कृषि उद्यमी र सहकारीलाई समेट्ने तयारी गरेको जनाएको छ। खाद्य डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक अनुज्ञापत्र उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको छ।

10 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु