पात्रो

रेडियो

समाचार खोजी

प्रतिकुल मौसमका कारण धान रोपाइँ घट्यो

साझा अर्थ संवाददाता २३ असार २०८३, मङ्गलवार

काठमाडौं, २३ असार: अनुकूल वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त बनेको छ। कृषि विभागका अनुसार हालसम्म कुल रोपाइँ योग्य १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये चार लाख ४३ हजार ५९५ हेक्टरमा मात्र धान रोपिएको छ। यो कुल क्षेत्रफलको ३२.३८ प्रतिशत हो, जबकि गत वर्ष यही अवधिमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। यस आधारमा रोपाइँको दर अघिल्लो वर्षको तुलनामा १२.६२ प्रतिशतले घटेको देखिएको छ।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ५७.९ प्रतिशत रोपाइँ भएको छ। त्यसपछि गण्डकीमा ४१ प्रतिशत, कर्णालीमा ४०.५ प्रतिशत, लुम्बिनीमा ३७.३ प्रतिशत, बागमतीमा ३३.२ प्रतिशत, कोशीमा ३१.५ प्रतिशत तथा मधेस प्रदेशमा सबैभन्दा कम १५.६ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार जलवायु परिवर्तनका कारण मनसुन समयमै सक्रिय हुन नसक्दा रोपाइँ प्रभावित भएको हो। यद्यपि, पछिल्ला दिनमा अधिकांश क्षेत्रमा वर्षा सुरु भएकाले रोपाइँको गति बढ्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो।

विशेषगरी धान उत्पादनका लागि महत्वपूर्ण मानिने तराई क्षेत्रमा, खासगरी मधेस प्रदेशमा, रोपाइँ निकै कम भएकाले यस वर्ष कुल धान उत्पादनमा असर पर्ने अनुमान गरिएको छ। नेपालको कुल धान उत्पादनमध्ये करिब ७० प्रतिशत योगदान तराई क्षेत्रबाट र बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट हुने गरेको कृषि विभागले जनाएको छ।

99 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु