म्याग्दी, २६ जेठ । म्याग्दी जिल्लामा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य थालिएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिको प्रवर्द्धनमा रहेको यस आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ भालेबासमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ निर्माण आरम्भ गरेको हो।
आयोजना निर्देशक रमण सिंहका अनुसार आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। पाँच किलोमिटर ६०० मिटर लामो सुरुङ बन्नेछ। साउथ एसियन इन्फ्रास्ट्रक्चर ठेकेदार कम्पनीले निर्माणस्थलमा काम थालिसकेको छ। मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामाको पहिरा थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण–४ घरापमा विद्युत्गृह निर्माण हुनेछ।
‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाको लागत करिब ४० अर्ब रुपैयाँ अनुमान गरिएको छ। ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ। प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले १० प्रतिशत सेयर पाउने व्यवस्था गरिएको वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए।
आयोजनाका लागि आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ। घरापदेखि दानासम्म २२० केभीको एक किलोमिटर प्रसारण लाइन बनाएर विद्युत् केन्द्रीय प्रणालीमा जोडिनेछ। नेपाली सेनाको कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारणको निर्माण अन्तिम चरणमा छ।
धार्मिक पूजापाठका बीच एक समारोहको आयोजना गरी आयोजनाको शुभारम्भ गरिएको थियो। अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले यो म्याग्दीकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ क्षेत्रका नदीहरूमा पहिल्यै १६२ मेगावाट क्षमताका पाँच वटा आयोजना निर्माण भइसकेका छन्।




