काठमाडौंः कालंगा हाइड्रो को आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा विक्री खुल्ला गरेको हो ।
१४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको कम्पनीले जनाएको छ । सो शेयर मध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र बझाङ्ग जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिकाको वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरुलाई बाँडफाँट गरिनेछ भने र ४ लाख ९० हजार कित्ता शेयर बझाङ्ग, जिल्लाको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको अतिप्रभावित क्षेत्रमा नपरेका सम्पूर्ण वडाहरुका स्थायी बासिन्दाहरुमा बाँडफाँट गरिने कम्पनीको भनाई रहेको छ । यस्तै ३ लाख ५० हजार कित्ता साधारण शेयर बैदेशिक रोजगारीमा रहेकाहरुको लागि छुट्याइएको छ ।
स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनएको छ ।