पात्रो

रेडियो

समाचार खोजी

मनसुन सक्रिय : पहाडी–हिमाली क्षेत्रमा भारी वर्षाको चेतावनी

साझा अर्थ संवाददाता १० साउन २०८३, आइतवार

काठमाडौं, १० साउन : जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न प्रदेशमा आज (आइतबार) भारी वर्षा हुन सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनी प्रणालीको प्रभाव अहिले पनि देशभर कायम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । कोशी प्रदेशको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा बदली भइरहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका धेरैजसो ठाउँमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो हिमाली र पहाडी भेगमा पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ । पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा चट्याङ र मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान, कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि यस्तो वर्षा हुन सक्छ । विशेषगरी बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

रातिको समयमा पनि देशैभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्रका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी–हिमाली भेगका केही स्थान, तथा तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ । यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ ।

भारी वर्षापछि उक्त क्षेत्रहरूमा गेग्रान, पहिरो, बाढी र भूक्षयको जोखिम उच्च रहने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन सुझाव दिइएको छ । प्रतिकूल मौसमले स्वास्थ्य सेवा, यातायात, पर्यटन, पर्वतारोहणलगायत कृषि क्षेत्रमा समेत असर पार्न सक्ने भन्दै महाशाखाले ताजा मौसम बुलेटिनमा नियमित ध्यान दिन आग्रह गरेको छ ।

37 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु