काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज मङ्गलवार साउन १२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिनको तीव्र गिरावटलाई केही हदसम्म थाम्ने प्रयास भए पनि आज नेप्से सूचक ४.६४ अंक अर्थात् ०.१७ प्रतिशतले घटेर २६९६.६७ को विन्दुमा बन्द भएको छ। यससँगै बजार २७०० को मनोवैज्ञानिक विन्दुबाट तल झरेको छ।
परिसूचकमा सामान्य गिरावट आउँदा बजारको कारोबार रकम (टर्नओभर) मा पनि केही कमी आएको छ। आज दिनभर बजारमा कुल १ करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयरहरू किनबेच हुँदा कुल ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजार २७०० को वरपर नै स्थिर रहने संघर्ष गरिरहँदा लगानीकर्ताहरू केही पर्ख र हेरको अवस्थामा देखिएका छन्। सूचकमा लगातार दुई दिन सामान्य दबाब देखिए पनि कारोबार रकममा आएको सन्तुलनले बजार पूर्ण रूपमा कमजोर नभई तल्लो विन्दुमा सम्हालिन खोजिरहेको बजार विश्लेषकहरूको ठहर छ।