काठमाडौँ, १२ साउन: भारतले नेपालसँगको सीमाक्षेत्र जोड्ने सुनौली-गोरखपुर सडकखण्डलाई चार लेनको आधुनिक द्रुतमार्ग (एक्स्प्रेस वे) मा स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। नेपाल-भारतबीचको कनेक्टिभिटीलाई थप सहज, सुरक्षित र तीव्र बनाउने उद्देश्यसहित अगाडि बढाइएको यो महत्त्वाकांक्षी परियोजनाले दुई देशबीचको यातायात क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरणका अनुसार १४ अर्ब ५८ करोड भारतीय रुपैयाँको लागतमा निर्माण भइरहेको यस द्रुतमार्गको कुल लम्बाइ ७९.५४ किलोमिटर रहेको छ। यसअघि दुई लेनमा सीमित रहेको उक्त सडकखण्डलाई चौडा गरी एक्स्प्रेस वेमा रूपान्तरण गरिएसँगै नेपालको भैरहवा हुँदै भारतको विभिन्न सहरतर्फको यात्रा धेरै छिटो र आरामदायी बन्नेछ।
यस सडक सञ्चालनमा आएपछि नेपालबाट भारतको नयाँदिल्ली जाने यात्रुहरूका लागि यात्राको समयमा भारी कटौती हुनेछ। हाल सुनौलीबाट नयाँदिल्ली पुग्न लाग्ने १२ देखि १४ घण्टाको समय घटेर अब मात्र ८ घण्टामै सीमित हुनेछ, जसले विशेषगरी पर्यटक, व्यापारी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई ठूलो राहत प्रदान गर्नेछ।