काठमाडौँ, १२ साउन: यातायात व्यवस्था सेवा कार्यालय, विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार यस अवधिमा विभिन्न प्रशासनिक सेवा तथा शीर्षकहरूबाट कुल ४८ करोड ९८ लाख २७ हजार १ सय ८७ रुपैयाँ राजस्व उठेको छ, जसमा सवारी साधनको करबाट मात्रै सबैभन्दा ठूलो हिस्सा संकलन भएको छ।
कार्यालयका सूचना अधिकारी लेखप्रसाद आचार्यले दिएको जानकारी अनुसार आर्थिक वर्षभरिमा सवारी करबाट मात्रै ३८ करोड ५२ लाख ७९ हजार ४ सय ८२ रुपैयाँ आम्दानी भएको छ। त्यसैगरी, चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) जारी तथा नवीकरण प्रक्रियाबाट ८ करोड ५३ लाख ३३ हजार ४ सय ७५ रुपैयाँ राजस्व संकलन भई यो आम्दानीको दोस्रो ठूलो स्रोत बनेको छ।
बाँकी राजस्व विभिन्न सेवा शुल्क तथा जरिवानाबापत उठेको छ। कार्यालयले रुट अनुमति (रुट पर्मिट) बाट १ करोड १४ लाख ३१ हजार ८३० रुपैयाँ, सामान्य सेवा शुल्कबापत ७५ लाख ५१ हजार रुपैयाँ, व्यवसाय दर्ताबापत १ लाख २८ हजार ३०० रुपैयाँ र जरिवाना तथा जफत गरिएको रकमबाट १ लाख ३ हजार १०० रुपैयाँ संकलन गरेको छ। यातायात सेवा कार्यालयको यो संकलनले यस क्षेत्रको प्रशासनिक गतिविधिको प्रभावकारितालाई दर्शाएको छ।