काठमाडौँ, १२ साउन: आन्तरिक राजस्व विभाग (IRD) ले विद्युत् खपतमा नयाँ व्यवस्था गरिएको मूल्य अभिवृद्धि कर (VAT) को कार्यान्वयनलाई लिएर देखिएको अन्योलता चिर्दै साउन १ गतेदेखि खपत भएको विद्युत् माथि मात्र कर लागू हुने स्पष्ट पारेको छ। आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनले मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन गर्दै विद्युत् सेवामा कर लगाउने व्यवस्था गरेपछि उपभोक्ताहरूमा देखिएको द्विविधा हटाउन विभागले यो आधिकारिक धारणा सार्वजनिक गरेको हो।
नयाँ प्रावधान अनुसार अन्तिम उपभोक्तालाई आपूर्ति गरिने विद्युत्मा ५ प्रतिशत र अन्य उपभोक्ता वा व्यावसायिक क्षेत्रलाई आपूर्ति गरिने विद्युत्मा १३ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको छ। विभागका अनुसार असार मसान्तसम्म खपत भएको विद्युत्को बिल साउन १ गते वा त्यसपछि जारी गरिएको भए पनि उक्त अवधिको विद्युत्मा भ्याट लाग्ने छैन। असार ३२ गतेसम्म विद्युत् करमुक्त वस्तु तथा सेवाको सूचीमा रहेकाले सो समयभित्र उपभोग गरिएको विद्युत् पूर्ण रूपमा भ्याटमुक्त रहनेछ। तसर्थ, बिलिङको मितिले नभई विद्युत् उपभोग गरिएको मितिले कर निर्धारण गर्नेछ।
त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणले स्वीकृत विद्युत् महसुलअनुसार उठाउने न्यूनतम शुल्क (Minimum Charge) र डिमान्ड शुल्क (Demand Charge) हरू पनि विद्युत् सेवाकै अङ्ग मानिने भएकाले साउन १ गतेदेखि उपभोग हुने विद्युत्को हकमा यी शुल्कहरूमा समेत भ्याट लागू हुनेछ। विभागले आम उपभोक्ता तथा व्यवसायीहरूलाई नयाँ कर नियमको पालना गर्न आग्रह गर्दै यसले विद्युत् बिलसम्बन्धी सम्पूर्ण अन्योललाई पूर्ण रूपमा अन्त्य गरेको जनाएको छ।